Home Candidate विश्वप्रकाश जेठारा

लगातारको हारले नथाकेका विश्वप्रकाश

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
विश्वप्रकाश जेठारा
बझाङ - १ उम्मेदवार

विश्वप्रकाश जेठारा

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

पटक–पटकको पराजयले विचलित नभई, 'एजेन्डाका लागि लड्ने' नेताको छवि बनाएका जेठारा यसपटक हिन्दु राष्ट्र र राजसंस्थाको बढ्दो बहसका बीच नयाँ उत्साहका साथ मतदातामाझ पुगेका छन्।

०००

 

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार थिए, विश्वप्रकाश जेठारा । प्रत्यक्षतर्फका उम्मेदवारले १ हजार २०८ मत प्राप्त गर्दा समानुपातिकतर्फ राप्रपाले ८८४ मत पायो । गणितीय हिसाबले यो निकै कमजोर नतिजा थियो ।

तिनै विश्वप्रकाश यसपटक पुन: बझाङबाट उम्मेदवार छन्, अघिल्लोपटक भन्दा बलियो आत्मविश्वास लिएर ।

२०७९ मा उनको पहिलो पराजय थिएन । यसअघि पनि उनी पटक–पटकको पराजित भएका थिए । तर, पनि उनले चुनावी मैदान छाडेका छैनन् । यसपटक उनी पाँचौंपटक चुनावी प्रतिस्पर्धामा छन् ।

५५ वर्षीय विश्वप्रकाश बझाङको केदारस्युँ गाउँपालिका–१, रायलमा जन्मिएका हुन् । २०३८ सालदेखि सदरमुकाम चैनपुरमा बसोबास गर्दै आएका छन् । सत्यवादी माविबाट एसएलसी उत्तीर्ण गरेका उनले जयपृथ्वी क्याम्पसबाट स्नातक र भारतको कुमाउ विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

विश्वप्रकाश आफूलाई ‘हाइफाइ’ जीवनशैलीका नेता नभएको बताउँछन् । सदरमुकाममा लामो समयदेखि स्टेसनरी तथा फोटो स्टुडियो सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘म सामान्य किसानको छोरा हुँ । फोटो खिचेर र कापी–कलम बेचेरै इमानदार जीवन बिताएको छु ।’

विद्यार्थी जीवनमा उनी केही समय कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघमा पनि जोडिएका थिए । २०४८ सालयता भने उनी राप्रपामा सक्रिय छन् । जिल्ला सचिव र अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा छन्, उनी ।

शाही शासनकालमा जिल्ला विकास समितिको उपसभापति बनेका उनले नेपाल रेडक्रस सोसाइटी बझाङमा समेत लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि उनी निरन्तर उम्मेदवारी दिँदै आएका छन् । २०६४ र २०७०मा भएका संविधानसभा सदस्य चुनावको पराजयले उनलाई रोक्न सकेन । त्यसपछ  २०७४ र २०७९ मा भएका आम निर्वाचनमा पनि उनी जनताबीच आफ्ना मुद्दा लिएर उभिए । भलै, त्यसबेला पनि उनी अनुमोदित हुन सकेनन् ।

‘चुनाव जित्नका लागि मात्र होइन, एजेन्डा स्थापित गर्न पनि लडिरहेको छु,’ उनी भन्छन्, ‘देशमा व्याप्त भ्रष्टाचार, धर्म–संस्कृतिको क्षय र ‘लुटतन्त्र’विरुद्ध उम्मेदवारीकेन्द्रित छ ।’

बझाङमा राप्रपाको संगठन कमजोर रहेको कुरा उनी स्वीकार्छन् । २०६२/६३ को आन्दोलनपछि संगठन लगभग शून्य अवस्थामा पुगेको उनको भनाइ छ । ‘कागजमा समिति भए पनि गाउँगाउँमा संगठन बलियो छैन,’ उनी भन्छन्, ‘तर, हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रप्रतिको आस्था जनतामा जाग्दै गएको छ ।’ उनका मुख्य राजनीतिक एजेन्डामा वैदिक सनातन हिन्दु राष्ट्रको पुनर्स्थापना, संवैधानिक राजसंस्था, प्रदेश संरचनाको खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली समावेश छन् ।

स्थानीय विकासका प्रतिबद्धता

विश्वप्रकाशले बझाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना, पश्चिम सेती र कालंगा जलविद्युत आयोजना अघि बढाउने तथा बाह्रै महिना चल्ने सडक सञ्जाल विस्तार गर्ने योजना सार्वजनिक गरेका छन् । ‘युवालाई विदेश पठाउने होइन, गाउँमै जडीबुटी र पर्यटन उद्योगमार्फत रोजगारी दिने मेरो भिजन हो,’ उनी भन्छन् ।

‘नागरिकता बनाउन नसक्ने गरिबदेखि प्रशासनमा हेपिएका निमुखासम्मको पक्षमा बोलेको छु,’ उनी भन्छन् । अन्य दलका नेताहरूले पटक–पटक जितेर पनि बझाङको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाउँदै उनले मतदातासँग ‘एकपटक परीक्षण’ गर्न आग्रह गरेका छन् । ठूला दलहरूको रस्साकस्सीका बीच जेठारा आफ्नो इमानदार छवि र वैकल्पिक विचारसहित घरदैलो अभियानमा सक्रिय छन् । नतिजा जे आए पनि एजेन्डाबाट पछि नहट्ने उनको अडान छ ।

Battleground Analysis

अनुकूलता

  • धैर्यता र निरन्तरता
  • सादगी र इमानदार छवि
  • राप्रपाको 'कोर' मुद्दा

प्रतिकूलता

  • कमजोर सांगठनिक आधार
  • ठूला दलहरूको वर्चस्व
  • विगतको मत परिणाम
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

विश्वप्रकाश जेठाराको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित