Home Candidate बासना थापा

महिला नेतृत्वमा कांग्रेसले गरेको भरोसा

http://नेपाली%20कांग्रेस
बासना थापा
दैलेख - १ उम्मेदवार

बासना थापा

महिला , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२३७२ मत
विजयी
Profile Timeline
Profile Timeline

१५ जेठ २०३७ मा काठमाडौं महानगरपालिका–९, मा जन्मिएकी बासना थापा पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएकी छन् । युवा नेतृ बासनालाई नेपाली कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाएको छ । जहाँ, उनी एमालेका रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतलगायतसँग प्रतिस्पर्धा गर्दै छिन् । 

अनुभवी र स्थापित नेताहरूको भीडमा कांग्रेसले नयाँ पुस्ता र महिला नेतृत्वमाथि भरोसा देखाएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एमाले र नेकपाका महिला उम्मेदवार शून्य छन् ।

बासना पहिलोपटक २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । ४ हजार ८६६ मत प्राप्त गरेकी उनी एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भइन् ।

२०७४ मै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि यहाँ कांग्रेस कमजोर देखियो । वाम गठबन्धनको तर्फबाट एमालेका रवीन्द्रराज शर्मा उम्मेदवार थिए । २३ हजार ७७३ मतसहित उनी दैलेख १ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित भए ।

कांग्रेसले यहाँ उम्मेदवारी दिएको थिएन । राप्रपासँग साझेदारी गरेकाले उनले राप्रपाका दीपककुमार शाहीलाई समर्थन गरेको थियो । तर, दीपककुमार १७ हजार २५२ मत मात्र ल्याउन सफल भए ।

२०७९ सम्म आउँदा २०७४ को गठबन्धन छिन्नभिन्न भइसकेको थियो । नेकपा एमाले र माओवादी मिलेर पहिले नेकपा नामको पार्टी गठन गरेका थिए । पछि त्यो विघटन भयो र दुवै आआफ्नो पूर्वअवस्थामा फर्किए । यी दुई वामपन्थी दलबीचको विवाद वैमनस्यतामै पुगिसकेको थियो । त्यसैले २०७९ मा कांग्रेस–माओवादी, नेकपा एकीकृत समाजवादी (एमाले विभाजनपछि बनेको पार्टी), राष्ट्रिय जनमोर्चासहितको गठबन्धन बनेको थियो ।

यही गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा उम्मेदवार बने । अम्मरबहादुर १८ हजार २९७ मतसहित प्रतिनिधिसभा सदस्य बने ।

कुनै समय कांग्रेसको बलियो प्रभाव क्षेत्र मानिने दैलेखका कांग्रेस कार्यकर्ता र शुभेच्छुकले त्यसपटक पनि रुख चिह्नमा मत हाल्न पाएनन् । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि २०४८ र ०५१ मा भएका आमनिर्वाचन तथा ०६४ को संविधानसभा निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार गणेश खड्का पराजित भए । त्यसयता पहिलोपटक कांग्रेसले यहाँ आफ्नो उम्मेदवार उठाएको हो । अर्थात् १२ वर्षपछि कांग्रेसले आफ्नो उम्मेदवार अघि सारेको हो । काठमाडौंमा जन्मे हुर्किएकी र २०५९ मा विवाह गरेर दैलेख आएकी बासनाले यसपटक मौका पाएकी छन् ।

हाल दैलेख नारायण नगरपालिकाकी स्थायी बासिन्दा बासना राजनीतिक परिवारमै हुर्किइन् । उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ (हालको ९) बाट निर्वाचित भएका थिए ।

कांग्रेसको पारिवारिक विरासतलाई पछ्याएकी बासना विद्यार्थी राजनीतिबाट कांग्रेसमा जोडिइन् । २०५७ सालमा नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेविसंघमा आबद्ध उनी २०६१ सालमा दैलेख जिल्लाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेकी हुन् । त्यसयता पार्टी सङ्गठनमा सक्रियता, विभिन्न सामाजिक संघसंस्थामा आबद्धता र समाजसेवामा अग्रसरता निरन्तर छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पनि शेखर–गगन पक्षबाट उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्, जहाँ उनी पराजित भइन् । कांग्रेसको १३ औं महाधिवेशनकी प्रतिनिधि उनी १४औंसम्म पुग्दा महासमिति सदस्य बनेकी थिइन् । 

राजनीतिक सक्रियतासँगै उनले होटल व्यवसाय पनि चलाइरहेकी छन् । लायन्सलगायतका सामाजिक संस्थाहरूबाट पनि सामाजिक कार्यमा संलग्न छिन् ।

‘जेनजी पुस्ताको माग र चाहनाअनुसार परिवर्तित कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई नै आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाएको हो,’ उनको प्रतिक्रियया छ, ‘मेरो उम्मेदवारीले पुस्तान्तरण र परिवर्तनको एजेन्डा स्थापित गरेको छ ।’

उनले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

Battleground Analysis

अनुकूलता

  • राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय
  • महिलाहरूका आर्थिक सवलीकरणको मुद्दा उठाउँदै

प्रतिकूलता

  • जनप्रतिनिधिका रूपमा नगरेको अवस्था
  • पार्टीको महत्वपूर्ण सांगठनिक जिम्मेवारी नरहनु
  • अन्य दलका बलिया उम्मेदवारहरुसँग प्रतिस्पर्धा
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

राजनीतिक टाइमलाइन

२०६१

कांग्रेसको क्रियाशील सदस्य

दैलेखबाट राजनीतिमा जोडिएका उनले २०६१ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् ।

२०७२

महाधिवेशन प्रतिनिधि

विवाहपछि दैलेख बस्न थालेकी बासना २०७२ मा नेपाली कांग्रेसको १३औं महाधिवेशन प्रतिनिधि बनिन् ।

२०७४

उपप्रमुख उम्मेदवार

पहिलो स्थानीय तह निर्वाचनमा उनी दैलेखको नारायण नगरपालिका उपप्रमुखको उम्मेदवार बनेकी थिइन् ।

२०७८

महासमिति सदस्य

कांग्रेसको १३ औं महाधिवेशनकी प्रतिनिधि उनी १४औंसम्म पुग्दा महासमिति सदस्य बनिन् ।

२०७८

केन्द्रीय सदस्य पराजित

काठमाडौंमा भएको १४औं महाधिवेशनमा उनी शेखर-गगन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । तर, जित निकाल्न सकिनन् ।

२०८२

विशेष महाधिवेशन

जेनजी आन्दोलनपछि कांग्रेस रुपान्तरणको कुरा उठाकाहरुले आयोजना गरेको विशेष महाधिवेशनमा उनी पनि सहभागी भइन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्यो ।

बासना थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
सम्बन्धित समाचार