दोस्रो पटक सांसद बन्ने कसरत
२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमै पराजित वैरागीले २०७९ को प्रतिनिधिसभामा सानदार जित निकाले । अघिल्लो पटक जनताबाट पाएको मत सुरक्षित राख्नुपर्ने दबाबका साथ अहिले पुन: मैदानमा छन् ।
०००
नेकपा एमालेले प्रतिनिधिसभाका निवर्तमान सांसद दामोदर पौडेल ‘वैरागी’ लाई पुन: कास्की क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको छ । उनी अघिल्लो पटक जनताबाट पाएको मतलाई सुरक्षित राख्नुपर्ने दबाबका साथ चुनावी मैदानमा छन् ।
यसअघि प्रतिनिधिसभामा प्रभावकारी भूमिका देखाउने समिति वा मन्त्री बन्ने अवसर वैरागीले पाएनन् । उनी पार्टी भित्र हस्तक्षेप गर्ने भूमिकामा पनि थिएनन् ।
एमाले महाधिवेशनमा मत हाल्न प्रतिनिधिको अवसरसमेत नपाएका उनै वैरागीलाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका छन् । एमाले नेता तथा पूर्वमन्त्री जगत विश्वकर्मा, युवा नेता माधव बास्तोलालगायत आकांक्षीलाई पछि पार्दै उनले टिकट हात पारे र अहिले मतदातालाई बुझाउँदै भोट मागिरहेका छन् ।
‘देशमा भएको जेनजी आन्दोलनले हामी चुनावमा होमिएका छौं । तर देशमा यो सबै एमालेले गर्दा भएको हो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ, यो बिल्कुल झुट हो । केही कमजोरी भए होलान् तर एमालेले जनताकै पक्षमा काम गरिरहेकै थियो । अब पनि गर्छ,’ उनले मतदातालाई भनिरहेका छन्, ‘संविधान र राष्ट्र बचाउनका निम्ति पनि अहिले एमालेलाई जिताउनुस्, हामी जनतालाई जिताएर देखाउने छौं ।’
यस पटक वैरागीलाई अघिल्लो पटक जस्तो सहज भने देखिँदैन । विशेष महाधिवेशन गरेर आएको कांग्रेसले आफूहरू सुधारिएको बताइरहेको छ । यसअघिकै चुनावमा सम्मानजनक मत ल्याएको रास्वपाप्रति जनलहर देखिएको छ । अघिल्लो पटकको प्रतिस्पर्धी पार्टी नेकपा पनि एमालेकै मत काट्ने दाउमा छ ।
पछिल्लो अवस्थामा वैरागीको प्रमुख प्रतिस्पर्धीमा रास्वपा उम्मेदवार बिना गुरुङ र कांग्रेस उम्मेदवार मनोज गुरुङ देखिन्छन् । जो आदिवासी जनजाति समुदायका पनि छन् र उनै उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । वैरागी भने यसअघिकै मतलाई सुरक्षित राखेर जित्ने दाउमा छन् ।
कास्की क्षेत्र नम्बर ३ मा यसअघि २२ हजार ९८० मत ल्याएर वैरागी विजयी भएका थिए । कांग्रेस-माओवादीसहित ५ दलीय गठबन्धनबाट रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका थिए भने रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याएका थिए ।
जेनजी आन्दोलन र आफ्नै महाधिवेशनले पनि धेरै नेता/कार्यकर्ताको मन कुँडिएकाले यही मत कायम राख्न एमालेले ठूलो परीक्षा पास गर्नुपर्ने नेताहरू बताउँछन् ।
बैरागी २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । २०२३ सालमा कास्कीको सल्यान गाउँमा जन्मिएका उनी २०३७ मा प्रगतिशील माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य र २०३८ मा अध्यक्ष चुनिएका थिए ।
२०३९ वैशाखबाट तत्कालीन नेकपा मालेको सदस्यता पाएका वैरागी २०५३ वैशाखमा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य र मजदुर फाँटको इलाका इन्चार्ज भएका थिए । त्यसपछि पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग प्रमुख हुँदै २०७० सालमा उनी पार्टी सचिव बने ।
सक्रिय राजनीतिमा लागेको चार दशकपछि २०७९ मा पहिलो पटक संसद्को टिकट पाएर निर्वाचित भएका वैरागी २०७४ सालको स्थानीय तह निर्वाचनमा भने वडा सदस्यमै पराजित भएका थिए ।
५ महिना भूमि समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्षसमेत भएर काम गरेको अनुभव उनीसँग छ।
Battleground Analysis
अनुकूलता
- पार्टी संरचना, कार्यकर्ता र स्थानीय सञ्जालमा पहुँच
- अघिल्लो निर्वाचनमा ल्याएको मताधार मुख्य शक्ति
- केन्द्रीय नेतृत्वको भरोसा
प्रतिकूलता
- संसद्मा प्रभावकारी उपस्थिति नदेखिनु
- बलियो बहुपक्षीय प्रतिस्पर्धा
- एमालेप्रति बढ्दो असन्तुष्टि
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | कास्की - ३ | रामजीप्रसाद बराल जीवन | १७५३५ | २२९८० | ५४४५ |
|
दामोदर पौडेल वैरागीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

