नयाँमा आएको लहर र पुराना भनिएका आफ्नै सहयोद्धाहरूलाई पछि पार्दै नेकपाको शाख जोगाउने होडमा उनी पहिलो पटक उम्मेदवारका रूपमा मैदानमा छन् ।
०००
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार गोपाल गिरी मनोनयन गर्ने अघिल्लो दिन माघ ४ गतेसम्म पनि चर्चाको केन्द्रमा थिएनन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जन्मक्षेत्र कास्की-३ मा करिब १ दर्जन उम्मेदवारको नाम सिफारिस भएको थियो ।
प्रचण्डको समेत नाम सिफारिस भएको क्षेत्रमा एमाले, एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका प्रेम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको थियो । तर अन्तिम समयमा व्यक्तिगत कारण देखाएर पौडेल हटेपछि नेकपाभित्र दोस्रो उम्मेदवारको खोजी भएको थियो । कास्कीका ३ वटा क्षेत्रमध्ये २ वटामा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार तय भइसकेको थियो ।
क्षेत्र नम्बर ३ मा एकीकृत समाजवादी पृष्ठभूमिका नेतालाई उम्मेदवार बनाउने योजनामा नेकपा थियो । मनोनयन गर्ने मिति नजिकै आइसकेपछि बल्ल नेकपाले निर्णय गर्यो, कास्की-३ मा गोपाल गिरीलाई उम्मेदवार बनाउने ।
यसअघि कांग्रेससहितको ५ दलीय गठबन्धनबाट पनि जित निकाल्न नसकेको नेकपाले प्रचण्डको जन्मक्षेत्रमा शाख जोगाउने नेताका रूपमा गोपाललाई चुनावी मैदानमा अगाडि सारेको छ ।
गिरी पाका कम्युनिस्ट नेता हुन् । एमाले, एकीकृत समाजवादी हुँदै नेकपाको राजनीतिमा होमिएका नेता गिरी पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् । लाभको पदमा नपुगेका तर लामो समयदेखि कम्युनिस्ट पार्टीमा निष्ठाको राजनीति गरेका नेताका रूपमा गिरी चिनिन्छन् ।
कास्की-३ का मतदातालाई आफ्नो पक्षमा ल्याउँदै जित निकाल्न भने गिरीका निम्ति चुनौतीपूर्ण छ । जेनजी आन्दोलनपछि आक्रमक प्रचार र अभियान चलाउँर्दै बस्ती छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी, सुधारिएर आएको उद्घोष गरिरहेको नेपाली कांग्रेस र अघिल्लो पटकको जितलाई सुरक्षित गर्ने नारा लगाइरहेको एमालेका उम्मेदवार नै उनका प्रमुख प्रतिस्पर्धी हुन् ।
२०२६ मा पुष्पकमल सुवेदी लगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको रेड गार्डमा सामेल हुँदै २०३५ मा तत्कालीन नेकपा (माले) रिभान गाउँ कमिटी सचीव भएर गिरीको राजनीति सुरु भएको हो । आफैं चुनावी मैदानमा नहोमिएको भए पनि यसअघिका चुनावमा आफ्ना उम्मेदवारलाई जिताउने अनुभव भने गिरीसँग छ ।
माले, एमाले र एकीकृत समाजवादी हुँदै नेकपा बनेका गिरीले अनेकौं राजनीतिक र सामाजिक जिम्मेवारी पूरा गरेका छन् । पञ्चायतकालमा सोमनाथ प्यासीदेखि बहुदलकालमा सीता गिरी ओलीसम्मलाई जिताउन गिरीले भूमिका खेले । अहिले तिनै पार्टी उनको प्रतिस्पर्धी छन् ।
पञ्चायतकालमा जनपक्षीय उम्मेदवार, जेल हिरासत र यातनासम्म भोगेका गिरीले स्थानीयस्तरमा नागरिकसँग जोडिएर शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा योगदान गरेका छन् ।
२०११ सालमा तत्कालीन रिभान गाउँको निम्न मध्यम किसान परिवारमा जन्मेका गिरी निरन्तर कम्युनिस्ट आन्दोलनमा छन् । नयाँमा आएको लहर र पुराना भनिएका उनकै सहयोद्धाहरूलाई पछि पार्दै नेकपाको शाख जोगाउने होडमा उनी पहिलोपटक उम्मेदवारका रूपमा उत्रिएका हुन् ।