३५ वर्षदेखि महिला र बालबालिकाको क्षेत्रमा सक्रिय मीना खरेल 'आदर्श गृह' मार्फत सामाजिक छवि बनाउन सफल छिन्। पार्टीभित्रको अभूतपूर्व एकता र व्यक्तिगत प्रभावका बलमा उनले रास्वपाको बलियो गढमा चुनौती दिइरहेकी छन्।
०००
महिला, बालबालिका, घरेलु हिंसा विरुद्धका विभिन्न सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील र स्थापित नाम हो, मीना खरेल । मीना खरेल भन्ने बित्तिकै चितवनवासीको दिमागमा झट्ट सम्झना आउँछ, एक त्यस्ती समाजसेवी महिला जो रात–दिन नभनी हिंसामा परेका महिला, बालबालिकाको उद्धारमा खटिन्छन् ।
५४ वर्षीय मीनाले झण्डै ३५ वर्ष यसरी नै समाजसेवा गरेर बिताएकी छन् । एकल, बहुविवाहबाट पीडित महिलाका पक्षमा कानूनी लडाइँ लड्नेदेखि जबरजस्ती करणीलगायत विभिन्न कारणबाट जन्मिएका, बाबुआमा दुवै गुमाएका असहाय बालबालिकाका लागि आश्रम चलाउँदै आएकी छन् ।
पीडित र अपहेलित महिलाहरूलाई स्वरोजगार बनाएर समाजमा स्थापित गर्न विभिन्न सीपमूलक तालिमहरू चलाएर चर्चामा आएकी मीनाको छवि राजनीतिक भन्दा बढी सामाजिक रूपमा उजेलिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ की स्थायी बासिन्दा मीना २०२८ मा जन्मिएकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
उनी आदर्श नारी क्लबको संस्थापक सचिव, आदर्श नारी विकास केन्द्र भरतपुरको अध्यक्ष, असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’को संस्थापक संयोजक हुन् ।
चितवन–२ मा मीना खरेलको उम्मेदवारीले निर्वाचनलाई "राजनीतिक क्रेज" (रवि लामिछाने) भर्सेस "सामाजिक सेवा" (मीना खरेल) को रोचक मोडमा पुर्याएको छ।
सडक बालबालिका पुनर्स्थापना केन्द्र ‘हाम्रो घर’, नारायणगढको संस्थापक, आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, सामुदायिक सेवा केन्द्र, नारायणगढको संस्थापक अध्यक्ष भएर काम गरेकी छन् ।
शुल्क वृद्धिको विरोध गर्दा सानैमा प्रहरीबाट गिरफ्तार भएकी मीना २०४६ सालको जनआन्दोलनमा नेविसंघका तर्फबाट सक्रिय सहभागी भइन् । वीरेन्द्र क्याम्पसमा नेविसंघको अध्यक्ष, कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्यहुँदै हाल कांग्रेसको महासमिति सदस्य छिन् ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिका वडा नं ५ को महिला वडा सदस्य निर्वाचित भएकी मीना पहिलोपटक संसदीय निर्वाचनको उम्मेदवार बनेकी हुन् । २०५६ सालको निर्वाचन पछि कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्न सकेको छैन ।
२०६४ सालमा चितवन निर्वाचन क्षेत्र नं ३ मा रहेको यो क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । २०७० र २०७४ को निर्वाचनमा लगातार नेकपा (एमाले)ले जितेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए । २०८० को उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित भए ।
२०७९ र २०८० मा माओवादी सहितको गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठेका थिए । तर, यसपटक कांग्रेसले गठबन्धन नगर्दा मीना मैदानमा उत्रिएकी छन् । अन्य उम्मेदवारका विषयमा कांग्रेसभित्र मतभेद, विवाद र असहयोग हुने गरेको विगतमा देखिए पनि यसपटक मीनाका बारेमा कांग्रेस एकढिक्का भएको छ ।
रास्वपाको सबैभन्दा प्रभाव क्षेत्रको पनि सबैभन्दा प्रभावित वडा, भरतपुर ४ कै स्थानीय बासिन्दा मीना हुन् । वाक्पटुता, तार्किक क्षमता, सबैलाई सहयोग गर्ने मीना रास्वपाका लागि चुनौती दिने बलियो उम्मेदवार हुन् ।
पार्टीभित्रको एकता, संगठनात्मक बल र चर्चित सामाजिक अभियानकर्मी हुनु उनका अनुकूलता हुन् भने रास्वपाको बलियो प्रभाव प्रतिकूलता रहेको छ ।