नेकपा एमाले स्थापना : १० वैशाख २००६ पार्टी प्रमुख : अध्यक्ष- केपी शर्मा ओली
२०४८ सालदेखि संसदीय अभ्यासमा रहेको नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । २०७४ को चुनावमा एमालेले २७५ मध्ये १२१ सिट जितेको थियो । तर २९ साउन २०७८ देखि एमाले संसदको प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा नेकपा एकीकृत समाजवादी बनाएपछि संसदमा एमालेले बहुमत पु¥याउने अवस्था बनेन । एमालेले विपक्षी दलकै हैसियतमा ३० वैशाख २०७९ को चुनावमा भाग लियो । यो चुनावमा एमाले २०६ सिटमा खुम्चिएको छ । २०७४ को स्थानीय चुनावमा भने २९५ स्थानीय तह जित्दै सबैभन्दा ठूलो दल बनेको थियो ।
५ पुस २०७७ र ७ जेठ २०७८ मा प्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि एमालेविरुद्ध पाँचदलीय गठबन्धन बन्यो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमालेले पनि जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित साना दलहरूसँग तालमेल गरेको छ । जसपा, राप्रपा, राप्रपा नेपाल र केही व्यक्तिलाई समर्थन गर्दा एमालेले प्रतिनिधिसभाको १६५ मध्ये १४० ठाउँमा उम्मेदवारी दिएको छ ।
जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिस्ट पार्टी एमाले २०४८ सालको चुनावमा दोस्रो शक्ति बनेको थियो । २०५१ सालमा सबैभन्दा ठूलो दल बनेर अल्पमतको नौ महिने सरकार बनायो । २०५६ सालमा फेरि एमाले दोस्रो शक्तिमै खुम्चियो । २०६४ सालमा एमाले तेस्रो दल बन्यो भने २०७० सालको चुनावमा दोस्रोमा उक्लियो ।
यो ३१ वर्षे संसदीय अभ्यासमा एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री भए । कांग्रेस, कांग्रेस प्रजातान्त्रिक र माओवादी केन्द्र नेतृत्वको सरकार बन्दा पनि एमालेले पटक–पटक सत्ता साझेदारी गरेको छ ।