अभाव र संघर्षबाट खारिएको नेतृत्व
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मोरङ–४ मा अमनलाल मोदीले उम्मेदवारी दिएका छन् । ४० वर्षीय मोदीले तीन पटक संसदमा प्रतिनिधित्व गरिसकेका छन् ।
चौथो पटक संसद प्रवेशका लागि उठेका उनले ७ वर्षको उमेरमै बाबु गुमाएका थिए । उनको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बिहान–बेलुका उद्योगमा काम गर्ने र दिउँसो स्कुल गएर उनले एसएलसीसम्मको पढाइ सके । आमा बालोदेवीले सात छोराछोरी हुर्काउन छिमेकमा बनिबुतो गर्नुका साथै हाटबजारमा आलुचप बेच्थिन् ।
२०५६ सालमा तत्कालीन भूमिगत नेकपा (माओवादी)मा आवद्ध झएका अमन सुरुमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा सत्रिय भए । कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले महेन्द्र मोरङ क्याम्पसमा पनि राजनीतिलाई अघि बढाए । यद्यपि त्यतिबेला पनि उनले पढाइ खर्च जुटाउन विराटनगरको होटलमा वेटर र क्लिनरको काम समेत गरे ।
माओवादी सशस्त्र युद्धका क्रममा २०६० सालमा पक्राउ परेका मोदी दुई वर्ष तीन महिना जेल बसे । पार्टी शान्ति प्रक्रियामा आएपछि खुला राजनीतिमा सक्रिय भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट पहिलो पटक जनप्रतिनिधि बने ।
२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा मोरङ–४ बाट उम्मेदवार बनेका मोदीले कांग्रेस नेता महेश आचार्यलाई पराजित गरे ।
२०७९ को निर्वाचनमा मोदी ३० हजार ६१२ मत पाएर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्व एमालेका विनोद ढकालले २४ हजार ४६३ मत पाएका थिए ।
चुनाव जितेर आएपछि मोदी समान्य प्रशासन मन्त्री बने ।
गत निर्वाचनमा समानुपातीकमा कांग्रेसले १९ हजार ५५५, एमालेले १८ हजार ३८६ र माओवादी केन्द्रले ९ हजार ७६० मत पाएको थियो । त्यतिबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दल बीच गठबन्धन थियो ।
मोदीले २१ फागुनको निर्वाचनमा कांग्रेस महामन्त्री गुरुराज घिमिरे, एमालेका जीवन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका मोर्चाहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्नु मोदीको लागि सकारात्मक पक्ष हो । अघिल्लो निर्वाचनमा जस्तो कांग्रेसको साथ नपाउनु उनका लागि चुनौती हो ।
Battleground Analysis
अनुकूलता
- तीन पटक संसदमा प्रतिनिधित्व गरिसकेकाले विधायन प्रक्रिया, संसदीय अभ्यास र नेटवर्कमा पकड
- माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका शक्तिहरू मिलेर बनेको संरचनाले संगठनात्मक आधार बलियो
- बाल्यकालदेखि अभाव र श्रम गर्दै अघि बढेको पृष्ठभूमि
प्रतिकूलता
- अघिल्लो निर्वाचनमा जस्तो कांग्रेसको साथ नहुनु
- लामो समयदेखि संसदमा रहेकाले ‘नयाँ अनुहार’ खोज्ने मतदातामा उत्साह कम हुन सक्ने
- कांग्रेस महामन्त्री, एमाले र अन्य दलका स्थापित उम्मेदवारसँग प्रतिस्पर्धा
अमनलाल मोदीको उम्मेदवारि कस्तो लागयो ?


