कैयौं पटक बुलेटको लडाइँ लडेका बुढाथोकी फागुन २१ गते हुने निर्वाचनमा ब्यालेटमार्फत प्रतिनिधिसभा प्रवेश गर्ने यात्रामा छन् ।
०००
१० वर्षे सशस्त्र जनयुद्ध सँगै लडेका सहयोद्धाहरू सांसद/मन्त्री बनिसके । नेकपा (माओवादी)का केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी भने बल्ल संसदीय चुनावको मैदानमा उत्रिएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) सधैं चुनावको विपक्षमा रह्यो । यसपल्ट भने नेकपा (माओवादी)ले निर्वाचनमा सहभागी हुने निर्णय गर्यो र बुढाथोकीले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट पाए ।
कैयौं पटक बुलेटको लडाइँ लडेका बुढाथोकी फागुन २१ गते हुने निर्वाचनमा ब्यालेटमार्फत प्रतिनिधिसभा प्रवेश गर्ने यात्रामा छन् ।
बुढाथोकी खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा २०३५ साल साउन १२ गते जन्मिएका हुन् । उनले भोजपुर बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
विचार र संगठनप्रति प्रतिबद्ध रहने बुढाथोकी विरोधीसँग सम्झौता नगर्ने व्यक्तिका रूपमा परिचित छन् ।
अन्नपूर्ण मावि दिल्पा, भोजपुरबाट २०४९ सालमा अनेरास्ववियु छैटौंमा आवद्ध बनेपछि बुढाथोकीको राजनीतिक यात्रा सुरु भएको हो । २०५१/०५२ मा अनेरास्ववियु क्रान्तिकारीको भोजपुर क्याम्पस इकाइ समिति सदस्य हुँदै भोजपुर जिल्ला कमिटी सदस्य बने । २०५७ सालमा क्रान्तिकारीबाट भोजपुर क्याम्पस स्ववियु सचिवमा पराजित भए ।
बुढाथोकी २०५७ सालमा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए र एरिया कमिटी सदस्य बने । तर २०५८ साल माघमा गिरफ्तारीमा परे । भोजपुरमै सेना र प्रहरीको हिरासतमा ११ महिना बसे । नजरबन्दसहित भोजपुरकै जेलमा राखियो ।
२०६० को दोस्रो वार्तापछि बुढाथोकी रिहा भए । जेलबाट छुटेपछि नेकपा (माओवादी)को जिल्ला कमिटी सदस्य तथा भोजपुर सदरमुकाम एरिय सचिव, २०६० माघ-फागुनमा जिल्ला सचिवालय सदस्य, भोजपुर सदरमुकाम एरिया इन्चार्ज बने ।
२०६३ मा पार्टी खुला भएपछि उनी भोजपुर कार्यालय सचिव, २०६४ मा किरात राज्य समिति सदस्य, २०६६ फागुनमा एकीकृत नेकपा माओवादी भोजपुरको सचिव, २०६९ मा पार्टी विभाजनपछि नेकपा माओवादी भोजपुरको इन्चार्ज, २०७१ मा पार्टी विभाजनसँगै नेकपा माओवादी भोजपुरको सचिव, २०७२ असारमा नेकपा माओवादी खोटाङको सचिव र २०७२ चैतबाट सगरमाथा ब्युरो कार्यालय सचिव भए ।
यसैगरी, २०७४ मा नेकपा माओवादीको ब्युरो कार्यालय सचिवसँगै उदयपुर इन्चार्ज भए । २०७५ साउनमा धरानबाट गिरफ्तारीमा परे । २५ दिनपछि उदयपुर लगियो । पक्राउ परेको २८औं दिनपछि उदयपुरबाटै रिहा भए ।
पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा २०७६ जेठदेखि साउनसम्म मोरङ इन्चार्ज, २०७६ साउनदेखि सगरमाथा (संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर) ब्युरो संयोजक, २०७७ सालमा वैकल्पिक केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज बने ।
२०७९ मा सम्पन्न नवौं महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बने । २०८१ मंसिरदेखि बुढाथोकी सोलुखुम्बु र ओखलढुंगाको इन्चार्जको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।