२०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय दामोदर भण्डारी बैतडीको पाटन नगरपालिका–६ का बासिन्दा हुन् । २०३० कात्तिक २० गते जन्मिएका उनले नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरू गरेका हुन् ।
भण्डारी २०४८ सालमा बैतडीको जिल्ला कमिटी अध्यक्ष बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् २०५० मा उनी एमाले बैतडी जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।
२०५४ सालमा जिल्ला कमिटी उपसचिव बनेका नेता भण्डारी २०५६ देखि २०६४ सम्म पार्टी प्रमुख सचिव हुँदै एमाले बैतडीको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहे ।
२०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) का नेता नरेन्द्र कुँवरसँग पराजित भए पनि उनले दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मार्फत् संसदीय यात्रा तय गरे । उक्त निर्वाचनमा उनीे बैतडी–१ बाट ११ हजार ६७२ मत प्राप्त गरी संविधान सभा सदस्यमा निर्वाचित भए ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा बैतडी एउटै निर्वाचन क्षेत्र बनेपछि भण्डारी वाम गठबन्धनका उम्मेदवारका रूपमा मैदानमा उत्रिए । उक्त निर्वाचनमा भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरे ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा तत्कालीन सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवरलाई एक हजार ५३१ मतान्तरले हराउँदै उनले ३३ हजार ६११ मतसहित विजयी भए ।
दोस्रो संविधान सभा निर्वाचनमा विजयी भण्डारीलाई एमालेले २०७३ अर्थ राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्मा पठायो । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाली सकेका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएपछि नेता भण्डारीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई पटक उक्त मन्त्रालय सम्हालेका थिए ।
आसन्न निर्वाचनमा एमालेले पूर्वमन्त्री भण्डारीलाई बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । यहाँ कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीसहित कुल ११ जना उम्मेदवार छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमाले नेता भण्डारी ३३ हजार ६११ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत पाएका थिए । यो निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो ।