Home Candidate हरि मोहन भण्डारी

पञ्चायतकालदेखिको राजनीतिक अनुभव, रास्वपाबाट उम्मेदवारी

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
हरि मोहन भण्डारी
बैतडी - १ उम्मेदवार

हरि मोहन भण्डारी

पुरुष , ५९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

लामो राजनीतिक अनुभव, विभिन्न धारको राजनीति भोगेको पृष्ठभूमि र स्वतन्त्र राजनीतिप्रतिको आकर्षण बोकेका हरिमोहन भण्डारी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा प्रवेशको प्रयासमा छन्। साढे चार दशकदेखि नेपाली राजनीतिमा सक्रिय भण्डारी पञ्चायतकालदेखि नै राजनीतिक गतिविधिमा संलग्न अनुभवी नेता हुन्।

बैतडीको राजनीतिमा परिचित नाम भण्डारी १५ कात्तिक २०२३ मा जन्मिएका हुन् । स्नातक तहसम्मको अध्ययन गरेका उनले आफ्नो राजनीतिक चेतनाको विकास पारिवारिक प्रेरणाबाट भएको बताउँछन्। उनका बुवा लक्ष्मण सिंह भण्डारी र आमा रत्ना भण्डारी हुन् ।

भण्डारीले २०३५ सालमा औपचारिक राजनीतिक यात्रा सुरु गरे। पञ्चायतकाल, बहुदल र गणतन्त्रसम्मका राजनीतिक उतारचढावलाई नजिकबाट भोगेका उनी २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसमा आबद्ध भए।

त्यसपछि करिब २३ वर्ष कांग्रेस राजनीतिमा सक्रिय रहँदै उनले तीन पटक महासमिति सदस्यको जिम्मेवारी निर्वाह गरे र पार्टी संगठन विस्तारमा भूमिका खेले।

राजनीतिक यात्रामा भण्डारीले पराजय पनि भोगे। २०७४ सालको प्रदेशसभा निर्वाचनमा पराजित भएका उनी २०७९ सालमा कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बने ।

उक्त निर्वाचनमा उनले ११ हजार १८ मत प्राप्त गरे पनि जित हासिल गर्न सकेनन्। अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिँदै नयाँ प्रयास गरिरहेका छन्।

लामो दलगत यात्रा र पटक–पटकको चुनावी प्रतिस्पर्धाबाट खारिएका भण्डारी आफूलाई परिवर्तनमुखी र जनउत्तरदायी नेताका रूपमा स्थापित गर्न खोजिरहेका छन् ।

चुनावी अभियानका क्रममा धेरै युवाको साथ पाइरहेको दाबी गर्ने उनी जनसमर्थन अन्तिमसम्म कायम रहन सके संसदीय यात्राको सम्भावना बलियो हुने विश्वास व्यक्त गर्छन्।

बैतडीमा एमाले, कांग्रेस र नेकपाले बलियो संगठन र दबदबा रहेको दाबी गरिरहेका बेला भण्डारीलाई ती दलहरूलाई टक्कर दिने उम्मेदवारका रूपमा हेरिएको छ।

पुराना दलप्रति मतदाताको धारणा एकरूप नरहेको सन्दर्भमा उनी परिवर्तनको आवाजलाई जोडतोडका साथ उठाइरहेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार दामोदर भण्डारी ३३ हजार ६११ मतसहित विजयी भएका थिए। कांग्रेस, एकीकृत समाजवादीसहित पाँच दलको समर्थन पाएका माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत ल्याएर पराजित भएका थिए ।

लगातार तीन पटक निर्वाचित भइसकेका एमालेका भण्डारी यसपटक चौथो जितको प्रयासमा छन्। उनलाई रोक्न कांग्रेसले जिल्ला सभापति तथा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। यही प्रतिस्पर्धीबीच रास्वपाबाट हरिमोहन भण्डारी मैदानमा उत्रिएका छन्।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्मको राजनीति भोगेको नेतृत्व
  • बहु–दलगत पृष्ठभूमि – विभिन्न राजनीतिक धार बुझ्ने क्षमता र लचकता
  • स्वतन्त्र र नयाँ राजनीतिक विकल्पको आकर्षण

प्रतिकूलता

  • जितको ठोस अनुभव अभाव
  • एमाले र कांग्रेसका स्थापित तथा प्रभावशाली उम्मेदवार
  • रास्वपाको ग्रामीण संगठन चुनौती

हरि मोहन भण्डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित