विगत डेढ दशकदेखि भौतिकशास्त्र, शिक्षा, खगोल विज्ञान जनचेतना र अनुसन्धान क्षेत्रमा सक्रिय मनिषा एक नेपाली वैज्ञानिकले राष्ट्रिय सीमाना नाघेर अन्तर्राष्ट्रिय पहिचान बनाएकी छन् ।
०००
खगोलशास्त्रकी विद्यार्थी मनिषा द्वाले राजनीति होमिएर चुनाव नै लडौंला भन्ने सोचेकी थिइनन् । राजनीतिको चासो र रुचि भए पनि खगोल विज्ञानमा रमाइरहेकी मनिषालाई आखिर परिस्थितिले उम्मेदवार बनाएरै छाड्यो ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ की उम्मेदवार बनेकी उनी मतदातादासँग आफ्ना एजेन्डा राख्दै मत मागिरहेकी छन् ।
ठूलो भिड र चर्चाको प्रतिस्पर्धाभन्दा अलि परै रहेर उनले मतदातालाई भेटिरहेकी छन् । नवयुवालाई विज्ञानसँग जोडेर रोजगारी सिर्जना गर्ने, आम्दानी बनाउने योजना बताइरहेकी छन् ।
विज्ञान र अनुसन्धानमा राज्यले लगानी नगर्दा आज देश कसरी पछाडि परेको छ भन्ने मतदातालाई बुझाइरहेकी छन् । क्यामेरा बोकेर जुनतारा नियाल्न र फोटो खिच्न डाँडापाखा चाहर्ने नेपालको महिला एस्ट्रो फोटोग्राफर अहिले भोट माग्दै कास्की-१ का गाउँपाखा चाहरिरहेकी छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन, नेपालका लागि नेसनल आउटरिच को-अर्डिनेटर, राष्ट्रिय खगोल शिक्षा संयोजक, वर्ड स्पेस विकका लागि काम गरिरहेकी मनिषा अब भने निर्वाचनमार्फत जनताको सेवा गर्ने योजना बुनेर उम्मेदवारी दिएको बताउँछिन् ।
कास्कीका सचेत मतदाताले परम्परागत दलहरूभन्दा बाहिरको 'प्राज्ञिक विकल्प' खोजे भने, मनिषाको उपस्थिति निर्णायक हुन सक्छ।
विज्ञानका क्षेत्रमा काम गर्दा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेकी यी ‘प्रभावशाली महिला’ राजनीतिमा भने खासै चर्चामा छैनन् । तर नयाँका नाममा नयाँ होइन, आफू विज्ञानको क्षेत्रमा साँच्चै नै नयाँ गर्ने योजनासहित विकल्प बोकेर आएको उनी बताउँछिन् ।
‘आजको विज्ञानको युगमा नागरिक धेरै सचेत भइसकेका छन । चर्चाभन्दा टाढा पनि परिणाम र सम्भावना खोजिरहेका छन्, म त्यही सम्भावना बोकेर आएकी छु,’ मनिषा भन्छिन्, ‘मत दिने-नदिने अधिकार त मतदाताको हो । म उहाँहरूको सम्मान गर्छु ।
मनिषा विगत डेढ दशकदेखि भौतिकशास्त्र शिक्षा, खगोल विज्ञान जनचेतना र अनुसन्धान क्षेत्रमा सक्रिय छिन् । एक नेपाली वैज्ञानिकले राष्ट्रिय सीमाना नाघेर अन्तर्राष्ट्रिय पहिचान बनाएकी छन् ।
भौतिकशास्त्र शिक्षिका, खगोल विज्ञान अभियन्ता तथा अनुसन्धानकर्ता द्वा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागमा विद्यावारिधि (पीएचडी) अध्ययनरत रहँदै नेपालमा विज्ञान शिक्षालाई पहुँचयोग्य र समावेशी बनाउने अभियानमा सक्रिय छिन् ।
मनिषा द्वाको उम्मेदवारीले कास्की–१ मा "राजनीतिमा विज्ञान र विचारको प्रवेश" गराएको छ। उनी चुनाव जित्ने अंकगणित भन्दा पनि "भोट र नोट" को राजनीतिलाई "ज्ञान र अनुसन्धान" को राजनीतिले प्रतिस्थापन गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छिन्।
खगोल विज्ञान शिक्षामा महिलाको सहभागिता र नेतृत्व विस्तारमा केन्द्रित उनका कार्यक्रमहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) मार्फत सञ्चालन हुँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय खगोल संघ (आईएयू) अन्तर्गत नेपालका लागि राष्ट्रिय खगोल शिक्षा संयोजक, राष्ट्रिय जनसम्पर्क संयोजक तथा ‘अफिस अफ एस्ट्रोनोमी फर एजुकेसन’ को नेपाल नोडमा उप-प्रबन्धकको जिम्मेवारी सम्हालिरहेकी छन् ।
सन् २०१३ मा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को सहसंस्थापक बनेकी मनिषा हालसम्म खगोल विज्ञान शिक्षा र जनसम्पर्कसम्बन्धी दर्जनौँ परियोजनाको नेतृत्व गरिरहेकी छन् ।
‘नेपालमा सामुदायिक सशक्तीकरणका लागि खगोल विज्ञान,’ ‘सबैका लागि समावेशी खगोल शिक्षा’ र ‘नेपालमा खगोल सिप विकास’ जस्ता परियोजनामार्फत उनले ग्रामीण, महिला र सीमान्त समुदायसम्म विज्ञान शिक्षा पुर्याउने प्रयास गरेकी छन् ।