Home Candidate योगेन्द्रबहादुर शाही

कर्णाली प्रदेशका रणनीतिक योजनाकार

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
योगेन्द्रबहादुर शाही
दैलेख - २ उम्मेदवार

योगेन्द्रबहादुर शाही

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३८५१ मत
Profile
Profile

योगेन्द्रबहादुर शाहीका लागि यो निर्वाचन "विज्ञता भर्सेस परम्परागत राजनीति" को परीक्षण हो। "कागजमा कोरिएका योजनाहरूलाई कार्यस्थलमा उतार्न शक्ति चाहिन्छ" भन्ने मान्यताका साथ उनी चुनावी मैदानमा छन्।

०००

२३ र २४ भदौको जेनजी आन्दोलनले आँधीहुरी ल्याइदिएपछि राजनीतिक पार्टीहरूमा कतै टुटफुट त कतै एकता देखियो । यही क्रममा जेनजी आन्दोलनको भावनालाई समेटने दावी गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अरु १० दल र घटक मिलाए र नयाँ पार्टीको घोषणा गरे– नेपाली कम्युनिष्ट पार्टी ।

नेकपामा अहिले २३ दल र घटक एकीकृत भएका छन् । यसरी बनेको नेपाली कम्युनिष्ट पार्टीबाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेख–२ का उम्मेदवार छन्, योगेन्द्रबहादुर शाही ।

यसअघि यसअघि ०७९ को प्रदेशसभा निर्वाचनमा दैलेख–२ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनेका योगेन्द्र झोनो मतले जितविहीन भए ।

तर, ९ चैत २०७९ मा उनी कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । त्यहाँ रहँदा उनले प्रदेशको आर्थिक विकाससम्बन्धी रणनीतिक योजनामा योगदान गरे ।

वैद्धिक विमर्शमा रमाउन चाहने योगेन्द्रले राजनीति भने नेपाल मजदुर किसान पार्टीबाट गरेका थिए । पछि एमाले प्रवेश गरे र लामो समय क्रियाशील रहे २०७९ को निर्वाचनअघि भने उनी एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरे । 

एमालेमै रहँदा भने उनी माधवकुमार नेपाल समूहसँग निकट थिए । एमालेमा घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा शाही सचिव थिए । विभागका प्रमुख भुसालले पार्टी परित्यागको घोषणा गरेकै दिन २३ असोज ०७९ मा सचिव शाहीले पनि पार्टी छोड्ने घोषणा गरेका थिए । 

शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना यूथ भिजन २०२५ को संयोजक पनि रहेका थिए । नेपाल मजदुर किसान पार्टीको भगिनी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०५० देखि २०५३ सम्म सुर्खेत क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरे । 

२०५२ नेमकिपा एमालेमा समाहित भएपछि शाही पनि एमालेमा लागेका थिए । २०५५ देखि २०६१ सम्म एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूको केन्द्रीय सचिवालय समिति, एमाले माध्यमबाट सन् २००७ देखि २०११ सम्म प्रजातान्त्रिक युवा संघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत भए । 

माले र माओवादी एकीकरणको बेला बनेको नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य भएका शाही सोही समयमा कर्णाली प्रदेश योजना आयोगको सदस्य भएका थिए । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शाही प्रचण्ड र माधव नेपाल पक्षमा लागेका थिए । 

२०७८ मा एमालेबाट विभाजित हुन लागेको बेला नेकपा एकीकृत समाजवादीको पक्षमा देखिए पनि पछि दल दर्ता हुनै लाग्दा शाही मूल पार्टी एमालेमै रोकिए । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले टिकट नदिएपछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा उनी नेकपा माओवादी केन्द्रमा लागे र कर्णाली प्रदेश सभा सदस्यका लागि दैलेख क्षेत्र २ को निर्वाचन क्षेत्र ‘२’बाट उम्मेदवार बनेका थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका उनी अहिले पनि विद्यावारिधि गर्दै छन् । कर्णाली योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष भएर प्रदेशको रणनीतिक योजना निर्माण गरेको अनुभव उनीसँग छ ।

उनले रोजा लक्जम्वर्ग फाउन्डेसन जर्मनीसँगको सहकार्यमा नेपाल अध्ययन केन्द्रका तर्फबाट नेपालको समसामयिक नीतिगत बहसका लागि संयोजक रही कार्य पनि गरेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्जनौं संघसंस्थाका सेमिनार र गोष्ठीका लागि युवा विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय तथा वातावरणीय दिगो विकाससम्बन्धी लेखन र प्रस्तुति दिएको शाहीसँग अनुभव छ । 

शाहीका अंग्रेजी र नेपाली दुवै भाषामा सम्पादित, एकल लेखन र सहलेखन गरी अनुसन्धानमूलक र विचार प्रधान पुस्तकहरू प्रकाशित छन् । उनी हिमालयन सिल्क रोड कन्सल्ट्यान्सीका संस्थापक तथा  कार्यकारी अध्यक्ष पनि छन् ।

२०३१ साल वैशाख ६ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेलीमा जन्मिएका योगेन्द्रसँग अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनका लागि नेपालको तर्फबाट पूर्वप्रधानमन्त्रीको प्रतिनिधिका रूपमा विभिन्न देशमा सहभागिता जनाएको अनुभवसमेत छ ।  

Battleground Analysis

अनुकूलता

  • संघीयता र अर्थराजनीतिबारे जानकार
  • प्रदेशको रणनीतिक योजना निर्माणमा भूमिका
  • राष्ट्रिय अन्तर्राष्टिय विषयका जानकार, बौद्धिक नेताको छवि

प्रतिकूलता

  • पार्टी अदलबदल गरिरहने बानी
  • तल्लो तहका कार्यकर्ता र जनस्तरसम्म न्युन पहुँच
  • संसदीय राजनीतिमा नयाँ अनुभव
शिक्षा
एमफिल
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
सरकारको अनुभव
कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष

योगेन्द्रबहादुर शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित