हितबहादुर तामाङ नुवाकोट–१ का लागि "माटो र समुदायमा भिजेका" एक प्रभावशाली र भरपर्दा नेता हुन्। उनको जातीय पकड, विगतको जितको शृङ्खला र निष्कलंक राजनीतिक जीवन नै उनको जितको प्रमुख आधार हो।
०००
दुईपटक सांसद् र दुईपटक छोटो कार्यकाल मन्त्री भइसकेका नेपाली कम्युनिष्ट पार्टीका नेता हितबहादुर तामाङ नुवाकोट क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारको रुपमा प्रतिष्पर्धामा छन् ।
समाजकै निम्ति संघर्षमा आफूले जीवन व्यतित गर्दै नागरिकको सहज पहुँच राख्न सक्ने जनप्रतिनिधिका रूपमा आफ्ना मतदातालाई कहिल्यै धोका नदिएको बताउने तामाङ नुवाकोटमा सदियौँदेखि जकडिएको परिवादको राजनीतिको अन्त्यको लागि आफूले जित्नुपर्ने दाबी गर्छन् ।
तेस्रोपटकमा काँग्रेसका नेता डा. रामशरण महतलाई पराजित गरेका उनका सामू यसपटक फेरि उनका भाइ डा. प्रकाशशरण महतसँग चुनावी चुनौती सामना गर्नुपर्नेछ । राजनीतिलाई स्वार्थबाट मुक्त राख्दै सेवाको संस्कृति विकास गर्नेदेखि कृषि, पर्यटन र सुशासनको मुद्दा बोकेर पाँचौंपटक चुनावी मैदानमा उभिएका तामाङले तेस्रोपटक पनि जित्ने र ह्याट्रिक गर्ने सुर कसेका छन् ।
तामाङ समुदायभित्र एक 'साझा र स्थापित नेता' को छवि हुनु र तामाङ राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक हुनु उनको सबैभन्दा ठूलो शक्ति हो। नुवाकोट–१ मा तामाङ मतदाताको बाहुल्यता रहेकाले यो 'भोट बैंक' उनको जितको मेरुदण्ड हो।
२०२० साल जेठ २० गते नुवाकोटको त्यतिबेलाको दुर्गम गाउँ पञ्चकन्यामा जन्मिएर गरिब र किसानहरूको पक्षमा संघर्षमार्फत् उदाएका नेता हुन् । ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय हितबहादुरले नागरिकको अधिकारको निम्ति बोकेका मुद्दाहरूकै कारण विभिन्न जेलनेल र यातना भोगेका छन् ।
गरिब किसान परिवारमा जन्मिएका उनले नेकपा एकता केन्द्रबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । पनि उनी नेकपा माओवादीमा प्रवेश गरे । पार्टीको केन्द्रीय सचिवालयको सदस्य बने । सन् १९९२ देखि १९९६ सम्म एकता केन्द्रमा सक्रिय उनले जिल्ला उपाध्यक्ष र पार्टी केन्द्रीय समिति सदस्यको पदमा जिम्मेवारी पूरा गरेका थिए ।
हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेका थिए । सोही विद्यालयबाट २०३९ सालमा प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेपछि ०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापन गरे ।
२०७४ र २०७९ को निर्वाचनमा लगातार जित हासिल गरेका तामाङ यसपटक 'ह्याट्रिक' गर्ने दाउमा छन्। दुई पटक सांसद र दुई पटक मन्त्री भइसकेका कारण उनीसँग राजकीय मामिला र चुनावी रणनीतिको उच्च अनुभव छ।
तामाङको राजनीतिक पृष्ठभूमि हेर्दा २०३६ सालमा अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनबाट सदस्य, २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी पाए । ०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता प्राप्त गरे ।
०४८ मा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष, ५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी), २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख भए । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने ।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि भूमिगत भए । भूमिगतकालमा ०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इञ्चार्ज भएर जिम्मेवारी पूरा गरे ।
खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा उनको नेतृत्वदायी भूमिकाका कारण २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पियो । त्यसको अर्को वर्ष अर्थात् २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो र चरम यातना दियो ।
४३ वर्षदेखि राजनीतिमा सक्रिय, जनयुद्धका क्रममा जेलनेल र भारतीय जेलमा भोगेको कठोर यातनाका कारण पार्टीका कार्यकर्ता र पुराना वामपन्थी मतदातामाझ उनीप्रति ठूलो सम्मान छ।
जब नेकपा माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि २५ महिनाको जेलजीवनमुक्त भएर उनी स्वदेश फर्किएका थिए । तामाङ समुदायभित्र आफूलाई साझा नेताको रुपमा अब्बल साबित गर्न सफल उनी तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत हुन् ।
२०६३ मा शान्ति प्रक्रियामा प्रवेश गर्दा उनी पार्टीको केन्द्रीय सदस्य भइसकेका थिए । जनआन्दोलनपश्चात् पुनर्स्थापना भएको अन्तरिम संसदमा उनी माओवादी पार्टीको प्रतिनिधित्व गर्दै संसद सदस्य बनेका थिए । २०७४ मा नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै माओवादी केन्द्रबाट नुवाकोट–१ क्षेत्रबाट निर्वाचित भएका थिए । महतले २७ हजार ९२० मत ल्याउँदा उनले ३६ हजार ४७३ मत प्राप्त गर्दै ८,५५३ मतको अन्तरले निर्वाचित भए ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा करिब एक सय मतले महतसँग पराजय ब्यहोरेका तामाङका लागि २०७० को दोस्रो संविधानसभा निर्वाचन पनि सुखद बन्न सकेन । उनी झलनाथ खनाल मन्त्रिपरिषद्मा युवा तथा खेलकुदमन्त्री थिए । २०६६ सालमा युवा तथा खेलकुदमन्त्री भए पनि लामोसमय मन्त्रीका रुपमा रहन पाएका थिएनन् । तर, उनले छोटो अवधिमा पनि जिम्मेवादीका साथ भूमिका निर्वाह गरेका थिए ।
राज्यको उच्च ओहोदामा पुग्दा पनि मतदातासँग सजिलै भेटिने, आश्वासन नबाँड्ने र विपक्षीलाई पनि सम्मान गर्ने उनको 'सादगी' र 'भद्र' शैलीले उनलाई नुवाकोटमा जनप्रिय बनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पुन: निर्वाचित भए । तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले पराजित गरे । विजयी तामाङले २६ हजार ५४८ मत प्राप्त गरे । यसअघि नै उनी पार्टीको केन्द्रीय सम्मेलनबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज समेत भए । २०८० फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भए तर, यो पटक पनि लामो समय मन्त्रीका रुपमा काम गर्ने अवसरबाट भने बञ्चित भए ।
राज्यका उच्च ओहोदामा पुग्दासमेत जनता (मतदाता) सँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता हुन् भने आश्वासन र विपक्षीलाई बिझाउने वचन नलगाउने व्यवहारले पनि नुवाकोटमा जनप्रिय नेतका रुपमा परिचित छन् ।