बसन्त राज शर्मा

पुरुष, ४२ बर्ष
७,२८५ मत
उम्मेदवारी : मेयर
लमही नगरपालिका, लुम्बिनी प्रदेश

दाङ जिल्लामा ‘विक्रान्त’ उपनामले चिनिने बसन्तराज शर्मा माओवादी केन्द्रबाट दाङ देउखुरीको लमही नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका छन् । ४३ वर्षीय शर्मा हाल लमही नगरपालिकाको माओवादी केन्द्र इञ्चार्जको जिम्मेवारीमा छन् ।

लमही नगरपालिका–३ उज्यालो गाउँ (साविकको सोनपुर गाविस ८ सुनडबरी) घर भएका उनी शहीद परिवारका एक सदस्य हुन् । माओवादी जनयुद्धको क्रममा उनले आफ्ना सहोदर दुई दाजुलाई गुमाएका थिए ।

जेठो दाजु विकासको राजनीतिक सक्रियताको प्रभावले उनी पनि सानैदेखि राजनीतिक गतिविधिमा सहभागी हुन थालेका थिए । २०४९ सालदेखि २०५१ सालसम्म सञ्चालित चुम (चुरे महाभारत) सांस्कृतिक अभियानमा उनी सहभागी भएका थिए । त्यही क्रममा २०५० सालमा तत्कालीन निमावि सोनपुरको अखिल क्रान्तिकारी इकाइ अध्यक्ष बने ।

२०५३ सालमा सोनपुर–८, सुनडबरीखुटी विद्यार्थी वाईसीएल सेल सेक्रेटरी बनेका उनले सोही वर्ष माओवादीको पूर्ण सदस्यता प्राप्त गरेका थिए । माओवादीका जिल्ला नेता दाजु विकास शर्मा (अभिषेक)बाटै उनले पार्टी सदस्यता प्राप्त गरेका थिए । विडम्बना त्यसको दुई वर्षपछि नै २०५५ मा विकास राज्यपक्षबाट मारिए । उनका माहिला दाजु प्रकाश पनि जनयुद्धमै मारिए ।

एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी २०५५ देखि २०५७ सालसम्म सञ्चार तथा व्यवस्थापन विशेष ब्यूरो अन्तर्गत काठमाडौं उपत्यकामा सक्रिय रहे । त्यसपछि २०५८ सालमा पार्टीमा उनी पूर्णकालीन भए ।

पार्टीको कामकै सिलसिलामा ९ पुस २०५९ मा तत्कालीन शाही नेपाली सेनाले काठमाडौंको नयाँबानेश्वरस्थित स्पेस टाइम्सको कार्यालयबाट उनलाई नियन्त्रणमा लियो र राजदल गण लगनखेलमा ४९ दिनसम्म सैन्य कस्टडीमा राख्यो । त्यसपछि थप २३ दिन उनले ललितपुरको जावलाखेल प्रहरीको हिरासतमा बिताए ।

उनी तत्कालीन स्पेस टाइम्स दैनिक पत्रिका वितरणको काम गर्दथे । उनी स्पेस टाइम्सकै जमिम शाहको पहलमा मुक्त भए ।

२०६० सालमा एरिया कमिटी सदस्य र २०६३ सालमा जिल्ला समिति सदस्य बनेका उनी हाल माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

उनले २०६२ देखि २०६५ सालसम्म पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा र २०६५ देखि २०७४ सालसम्म जनार्दन शर्मा (प्रभाकर)को सचिवालयमा रहेर पनि काम गरेका थिए । त्यसपछि उनी गाउँ फर्किए र जग्गा भाडामा लिएर व्यावसायिक कृषि कर्ममा लागे ।

चुनावमा चुनौती

लमही नगरपालिकामा तालमेलको प्रयास सफल नभएपछि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी एक्लाएक्लै चुनावी मैदानमा छन् । उनीहरूका लागि नेकपा एमाले नै मुख्य प्रतिस्पर्धी हो ।

नेपाली कांग्रेसका तत्कालीन प्रभावशाली नेता खुमबहादुर खड्काको गृहनगर समेत रहेको यहाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले आफ्ना सात जना कार्यकर्ता गुमाएको थियो ।

खुमबहादुर सवार गाडीमा आक्रमण गरेको आरोपमा गोली चलाइँदा त्यही लमही निवासी दुई सहित ७ माओवादी कार्यकर्ताहरूको ज्यान गएको थियो । त्यसको बदला माओवादीले पहिलो संविधानसभा निर्वाचनमा खुमबहादुरलाई नै हराएर लिए पनि त्यसपछिका चुनाव माओवादीले जित्न सकेको छैन । त्यसैले विक्रान्तलाई लमहीको निर्वाचन जितेर नयाँ इतिहास लेखाउने अवसर छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा लमही नगरपालिकाको मेयर एमालेले जित्दा उपमेयर भने नेपाली कांग्रेसले जितेको थियो । एमालेका कुलबहादुर खत्री क्षेत्रीले ५ हजार १५२ मतसहित मेयर पद जित्दा कांग्रेस र माओवादीका उम्मेदवारहरू क्रमशः दोस्रो र तेस्रो भएका थिए । कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीले ५ हजार ६९ र माओवादीकी द्रौपदी पौडेलले ४ हजार ८१ मत पाएकी थिइन् ।

उपमेयर पदमा भने नेपाली कांग्रेसकी देवका बेल्बासे ५ हजार १५ मतसहित विजयी भएकी थिइन् । एमालेकी उपमेयर उम्मेदवार मीना देवी गुरुङले ४ हजार ८४३ र माओवादीका कालुराम चौधरीले ४ हजार ४२ मत पाएका थिए । यसपटक नेकपा एमाले विभाजित भए पनि सोही पार्टी सत्ता गठबन्धनका दलहरूका लागि मुख्य चुनौती बन्न सक्ने अनुमान छ ।

चौधरी समुदायको बाहुल्य रहेको पालिकामा प्रतिस्पर्धीहरू सोही समुदायका भए पनि उनी पहाडी समुदायका उम्मेदवार हुन् । यो उनको प्रतिकूलता हो ।

थप उम्मेदवारहरु

जोगराज चौधरी

जोगराज चौधरी
पुरुष, ७४ बर्ष

लमही नगरपालिका, लुम्बिनी प्रदेश
दण्डीराम चौधरी

दण्डीराम चौधरी
पुरुष, ५० बर्ष

लमही नगरपालिका, लुम्बिनी प्रदेश
द्रष्टव्यः अनलाइनखबर डटकमको निर्वाचन विशेष साइटमा प्रस्तुत नक्सा 'निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४'को प्रतिवेदनलाई आधार मानेर तयार पारिएको हो । उल्लेखित चुनावी तथ्याङ्कहरु निर्वाचन आयोगको दस्तावेजमा आधारित छन् । सुझाव, सल्लाह र प्रतिक्रियाका लागि [email protected]